समाचार

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या १९ पुग्यो

Jun 14,2020

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या १९ पुग्यो
SMART NEWS NEPAL

काठमाडौं,जेठ ३२। नेपालमा कोरोनाको कारण थप एक  संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको कुल संख्या १९ पुगेको छ ।

गुल्मीका कोरोना सङ्क्रमित एक व्यक्तिको गए राती मृत्यु भएको मन्त्रालयले जनाएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिवार राति निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

उनी जेठ २ गते भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो ।

त्यसलगत्तै थप उपचारका लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेसनमा राखिएको थियो । उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगी समेत थिए ।

यो सँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटवलमा निधन भएको थियो ।

त्यस्तै हालसम्म ९ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । आज मात्रै थप ६१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका हुन् ।