समाचार

हृदयघात भएको मुटु स्वस्थ बनाउने ‘प्याच’ बनाए बेलायती वैज्ञानिकले

Jun 07,2019

heart
test

लन्डन : बेलायती वैज्ञानिकको समूहले मुटु मर्मत गर्ने जैविक ‘प्याच’ (टालो) विकास गरेका छन्। ३ सेन्टिमिटर लम्बाइ र २ सेन्टिमिटर चौडाइको यो जैविक प्याच प्रयोगशालामा विकास गरिएको हो। लन्डनस्थित इम्पेरियल कलेजका वैज्ञानिकले विकास गरेको बुढीऔंला जत्रो ‘प्याच’मा ५ करोडभन्दा बढी कोष हुन्छन्।

बिरामीकै ‘स्टेम सेल’ (कोष)बाट प्रयोगशालामा विकास गरिएको यो प्याचले हृदयघातपछि कमजोर भएका मुटुको मर्मत गर्न सक्ने देखिएको छ। करोडौं जीवित कोषको प्याचले बिरामीको शरीरमा रहेका अन्य कोषले जस्तै रसायन पनि निर्माण गर्नुका साथै कमजोर मुटुको मर्मत पनि गर्छ। बिरामीकै कोषबाट प्याचले आफूलाई स्वस्थ र काम गर्ने मांसपेशीमा रूपान्तरण गर्छ।

यसलाई मुटुमाथि सिलाएपछि यसले निस्कासन गर्ने रसायनले मुटु मर्मत गर्नुका साथै मुटुका नयाँ कोषसमेत बनाउँछ। खरायोमा गरिएको परीक्षणबाट यो मानवका लागि पनि सुरक्षित हुनसक्ने देखिएको इम्पेरियल कलेजका वैज्ञानिकले बताएका छन्। उनीहरूले म्यानचेस्टरमा पत्रकार सम्मेलन गरी प्याचबारे जानकारी दिएका हुन्। ब्रिटिस कार्डियोभास्कुलर सोसाइटीको बैठकले आगामी २ वर्षभित्र यो प्याचको मानवमा परीक्षण सुरु हुने जनाएको छ।

सामान्यतया धमनी साँघुरिएर मुटुमा रगतको प्रवाहको मात्रा घट्छ। यस्तो हुँदा मुटुका मांसपेशी तथा कोषमा अक्सिजन, पोषक तत्वको कमी हुन्छ र हृदयघात हुन्छ। हृदयघातले मुटु कमजोर हुन्छ र रगत प्रवाह गर्ने क्षमता स्वात्तै घटाउँछ, जसले अन्ततः मुटुलाई अशक्त (कामै गर्न नसक्ने) बनाइदिन्छ। ९ लाख २० हजार बेलायतीको बर्सेनि ‘हार्ट फेल’ हुन्छ।

‘छिट्टै चिकित्सकले हृदयघात भएका व्यक्तिलाई यो प्याच हाल्न सुझाउन पाउने अपेक्षा हामीले लिएका छौं’, अनुसन्धानकर्ता डा.रिचर्ड जाबोरले भने, ‘हार्ट फेल भएका बिरामीलाई केही औषधिसहित यो प्याच प्रेस्क्राइब गर्न सकिनेछ। चिकित्सकहरूले यो प्याच -याकबाट झिकेर सीधै बिरामीमा प्रत्यारोपण गर्न सक्नेछन्।’
यो अनुसन्धानका लागि अनुदान दिएको ब्रिटिस हार्ट फाउन्डेसनका प्रोफेसर मेटिन आकिरणले भने, ‘हार्ट फेल एउटा उपचार नै नहुने स्थिति हो, जसले दैनिक जीवनयापन नै अत्यन्त कठिन बनाउँछ।’